स्वास्थ्य

पालुङटार नगरपालिकामा स्वास्थ्यकर्मीहरुको लागि PAMS V2 सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

गोरखा । पालुङटार नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थाहरूमा सार्वजनिक सम्पत्ति व्यवस्थापनलाई डिजिटल तथा पारदर्शी बनाउन PAMS V2 (Public Assets Management System) प्रणाली लागू गर्ने तयारीसँगै स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

नगरपालिकामा सञ्चालित स्वास्थ्य चौकी, अस्पताल तथा केन्द्रका सम्पत्ति–सामग्रीको दिगो संरक्षण, व्यवस्थापन, अभिलेखीकरण तथा अनुगमनलाई सहज बनाउन PAMS V2 अत्यन्त महत्वपूर्ण हुने अधिकारीहरूले बताए। कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूलाई प्रणाली प्रयोग गर्ने तरिका, सामग्री भर्ना/अद्यावधिक गर्ने प्रक्रिया, सम्पत्ति ट्र्याकिङ, रिपोर्टिङ, र वार्षिक तथा त्रैमासिक विवरण तयार गर्ने अभ्याससमेत गराइएको थियो।

कार्यक्रममा पालुङटार नगरपालिका स्वास्थ्य शाखाका प्रमुखले PAMS V2 ले नगरपालिका तथा स्वास्थ्य संस्थामा रहेका सम्पत्तिको प्रभावकारी योजना, व्यवस्थित अभिलेख तथा पारदर्शी उपयोगमा ठुलो योगदान पुर्‍याउने भन्दै डिजिटल व्यवस्थापनलाई स्वास्थ्य सेवाको गुणस्तर सुधारको आधारस्तम्भका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरे।

अभिमुखिकरणमा सहभागी स्वास्थ्यकर्मीहरूले नयाँ प्रणालीमार्फत सम्पत्तिको वास्तविक अवस्था, भण्डारण, नोक्सानी, प्रतिस्थापन तथा आवश्यकताबारे तत्काल जानकारी प्राप्त गर्न सकिने भएकाले सेवा प्रवाह अझ सुचारु हुने विश्वास व्यक्त गरेका छन्।

नगरपालिकाले आगामी दिनहरूमा स्वास्थ्य क्षेत्रका अन्य डिजिटल प्रणाली तथा क्षमता अभिवृद्धि कार्यक्रममा पनि निरन्तरता दिइने जनाएको छ।