आफ्नो जीउ ज्यान नै तलमाथि हुने अवस्थामा चेतावनीसहित सुरक्षाकर्मीहरुलाई घातक बल प्रयोग गर्ने अधिकार हुन्छ । जेनजी आन्दोलनमा त्यस्तो अवस्था नभई सुरक्षाकर्मीहरुले ‘ब्यापक बल प्रयोग गरेको’ ह्यूमन राइट वाचको निष्कर्ष हो ।
‘सोझै प्राणघातक प्रहार’
राजनीतिक भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शन गरिएका प्रदर्शनकारीहरुमाथि करिव तीन घण्टासम्म धेरैपटक अन्धाधुन्ध गोली चलेको भन्दै उसले त्यसक्रममा मात्रै १७ जनाको ज्यान गएको जनाएको छ । त्यो दिन मर्नेहरुको कुल संख्या भने २२ पुगेको थियो ।
उसले अध्ययन प्रतिवेदनमा पहिलो दिन साढे १२ बजे संसद भवन वरपर जम्मा भएका प्रदर्शनकारीहरुलाई तितरवितर पार्न प्रहरीले सोझै ‘प्राणघातक बल’ प्रयोग गरेको निष्कर्ष निकालेको छ । उसले त्यो प्रहार टाउको, छाती र पेटमा केन्द्रित भएको भन्दै सुरक्षाकर्मीहरु ‘जीवन-मरणको जोखिम’मा नभएकै अवस्थामा पनि बल प्रयोग भएको निष्कर्ष निकालेको हो ।
जीवन-मरणको जोखिममा भने सुरक्षाकर्मीहरुले चेतावनीसहित प्राणघातक बल प्रयोग गर्नु स्वभाविक मानिन्छ । एक अवकाशप्राप्त प्रहरी अधिकारीलाई उदृत गर्दै अध्ययनले ‘भीड नियन्त्रण र प्राणघातक बल प्रयोगको प्रक्रियाको पालना नभएको’ भनेको छ ।
